सिके राउतका कार्यकर्ताद्वारा सवारी तोडफोड

तु खबर संवाददाता
२०७८ पुष ११, आईतवार १४:०९

सिराहा । सिराहामा सिके राउतका कार्यकर्ताहरुले सवारी तोडफोड गरेका छन् । बन्द उल्लंघन गरेको भन्दै उनीहरुले आरोपमा उनीहरूले मिर्चैयामा गाडीहरू तोडफोड गरेका हुन् । प्रहरीका अनुसार मिर्चैयामा सीके राउतका कार्यकर्ताहरूले चार–पाँच वटा गाडीहरूको सिसा फुटाएका छन् । प्रहरी नभएको मौकामा उनीहरूले गाडीमा तोडफोड गरेको बताइएको छ ।

चार–पाँच वटा गाडीहरू तोडफोड भएका छन्, प्रहरीले सडक बन्द गर्न भने दिएको छैन । लामो र छोटो दुरीका गाडीहरू चलिरहेका छन् । औरही गाउँपालिकाबाट गहुँ लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेपछि सीके राउत नेतृत्वको जनमत पार्टीले आज बन्द आह्वान गरेको छ ।

औरही गाउँपालिकाले किसानलाई नै वितरण गर्न भन्दै स्थानीय स्वास्थ्य चौकीमा गहुँको बिउ भण्डारण गरेर राखेको थियो । तर गहुँ वितरण गर्न ढिलाइ गरेको भन्दै केही किसानहरुले यही पुस २ गते सो गहुँ आफैं लगेका थिए । गहुँ लुटेको आरोपमा प्रहरीले चार जनाविरुद्ध मुद्दा दायर गरेको छ भने तीमध्ये, एक जनालाई पक्राउ गरेको छ । यसको विरोधमा जनमत पार्टीले गाउँपालिकामा तालाबन्दी गरेको छ ।