मुख्यमन्त्री पाण्डेले गरे चौथो पटक सरकार विस्तार: को–को भए मन्त्री ?

तु खबर संवाददाता
२०७८ पुष ९, शुक्रबार १७:१६

मकवानपुर । बागमती प्रदेश सरकार चौथो पटक विस्तार भएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम ३ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका हुन् । क्रमश भूमि व्यवस्था सहकारीमन्त्री बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ नियुक्त भएका हुन् ।

त्यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा रजनी अमात्य र स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपाली नियुक्त भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यससँगै बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ वटै मन्त्रालयले फुल मन्त्री पाएको छ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको आजै सपथ हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यसअघि पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला मन्त्री भएका छन् । यस्तै, दोस्रो चरणमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

त्यसैगरी तेस्रो पटक भएको सरकार विस्तारमा क्रमश श्रम रोजगार तथा यातायातमन्त्रीमा घनश्याम दाहाल, खानेपानी उर्जा तथा सिंचाईमन्त्रीमा बसन्तकुमार मानन्धर, कृषि तथा पशुपन्छीमन्त्री बसुन्धरा हुँमागाई, वन तथा वातावरणमन्त्री विशाल खड्का, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल र कृषि तथा पशुन्छी राज्यमन्त्री इन्द्रमाया गुरुङ नियुक्त भएका हुन् ।

बागमतीमा गएको मंसिर १५ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार ८ वटा मन्त्रालय फुटाएर १४ वटा पुर्याइएको छ । निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय थप गरी कूल ८ मन्त्रालय पुर्याएकी थिइन् ।