राक्सिराङका ५३३ विद्यार्थीलाई निः शुल्क पठनपाठन

तु खबर संवाददाता
२०७८ पुष ८, बिहीबार ०८:५८

मकवानपुर । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) को आयोजनामा मकवानपुरको राक्सिराङ गाउँपालिकाका सामाजिक लेखापरीक्षण कार्यक्रम बुधबार भएको छ । रेष्ट संस्थाका कार्यकारी निर्देशक डा. अरुणा उप्रेतीको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

बालिका शिक्षा अभियान अन्तर्गत् अमेरिकन हिमालयन फाउण्डेसनको सहयोग तथा महिला तथा बालबालिका सरोकार केन्द्रको सहकार्यका रेष्ट कार्यक्रमले राक्सिराङ गाउँपालिकाका ६ वटा वडामा कार्यक्रम सञ्चालन गरिरहेको छ । छनौटमा परेका बालिकालाई कक्षा–१२ सम्म निःशुल्क पढाइने र शैक्षिक सामग्री प्रदान गर्दै आएको छ । राक्सिराङमा २४ विद्यालयका ५ सय ३३ विद्यार्थीलाई निःशुल्क पठनपाठन गराइँदै आएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, गैससका प्रतिनिधि, रेष्टको सहयोग पाइरहेका विद्यार्थी, विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक र प्रहरीको सहभागिता थियो । कार्यक्रममा रेष्टले गरेको कामबारे आफ्नो विचार राख्दै रेष्ट पालिका सहजकर्ता मानबहादुर वाइबाले कार्यपत्रसहित प्रतिनिधिमूलक जिज्ञासा र विचार लिएका थिए । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गौलालगायतको आतिथ्यता थियो ।