आज नेप्से ९२ अंकले वृद्धि, साढे ४ अर्बको कारोबार

तु खबर संवाददाता
२०७८ पुष ७, बुधबार १६:२७
file-photo

काठमाडौं । आज साताको चौथो दिन (बुधबार) शेयरबजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९२ अंकले वृद्धि भएको छ । कारोबार समयदेखि नै बढ्न थालेको सेयर बजार अन्तिम समयसम्म ९२ अंकले वृद्धि भएको हो । यससँगै, पछिल्लो दुई दिनमा नेप्सेमा १४८ अंकको सुधार आएको छ । हिजो मंगलबार पनि उकालो लागेको सेयर बजारमा ५६ अंकको सुधार आएको थियो ।

आज २ हजार ४२५ अंकबाट कारोबार सुरु भएको नेप्सेमा ९२ अंकको सुधार आउँदा परिसूचक २५ सय ७ अंकमा पुगेको छ । आज ८१ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५२ करोडको कारोबार भएको जनाइएको छ । यस्तै आज १३ वटै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जिवन बीमा समूहमा ५०२ अंकको, निर्जीवन बीमा समूहमा ४८७ अंकको र उत्पादनमूलक समूहमा ४५२ अंकको सुधार आएको छ ।

यस्तै, विकास बैंक समूह २३० अंक, व्यापार समूह २०२ अंक र लघुवित्त समूहमा १८२ अंकको सुधार आएको छ । नेप्से परिसूचक उत्साहजनकरुपमा बढेको दिन आज तीन वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, थप ५ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको सुधार आएको नेप्सेले जानकारी दिएको छ ।