बागमती प्रदेश: डेढ घण्टा ढिलो गरी कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु
मकवानपुर । बागमती प्रदेशसभाको आज दिउँसो १ बजेको लागि तय भएको ९ औँ अधिवेशन बैठकका लागि ११ः३० बजे बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठक दिउँसो १ बजेमात्रै सुरु भएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता उमेश सोतीले जानकारी दिए ।
कार्यव्यवस्था परामर्श समितिको बैठक अहिले जारी छ । संसद् संभालनको लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सोही बैठकबाट प्रदेशसभा बैठकको कार्यसूचि तय हुनेछ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएपछि प्रदेशसभाको बसेको छैन । बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ४३, नेकपा माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २२, नेकपा एकीकृत समाजवादीको १३, जसपाको १, नेमकिपाको २, राप्रपाको २, विवेकशील साझाको ३ गरी कूल १०९ सांसद् रहेका छन् ।
मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले पटक–पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै अहिले प्रदेशमा १४ वटा मन्त्रालय पुर्याइएको छ । निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय थप गरेका थिए । पाण्डेले ८ मन्त्रालयबाट १४ पुर्याएका हुन् ।
