बागमती प्रदेशसभा बैठकअघि कार्यपरामर्श समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०७८ पुष ७, बुधबार ०९:००

मकवानपुर । बागमती प्रदेशसभाको बैठकअघि कार्य परामर्श समितिको बैठक बस्दैछ । संसद् संभालनको लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठक ११ः३० बजे बस्ने र सोही बैठकबाट प्रदेशसभा बैठकको कार्यसूचि तय हुनेछ ।

दिउँसो १ बजेका लागि प्रदेशसभाको ९ औँ अधिवेशन बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएपछि प्रदेशसभाको बसेको छैन । बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ४३, नेकपा माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २२, नेकपा एकीकृत समाजवादीको १३, जसपाको १, नेमकिपाको २, राप्रपाको २, विवेकशील साझाको ३ सांसद् रहेका छन् ।

मुख्यमन्त्री पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । राजनीतिक भागबण्डा मिलाउन उनले प्रदेशमा १४ वटा मन्त्रालय पुर्याएका छन् । त्यसअघि नै निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रालयलाई फुटाएर स्वास्थ्य मन्त्रालय थप गरेकी थिइन् । पाण्डेले ८ मन्त्रालयलाई पनि टुक्र्याएर १४ पुर्याएका हन् ।

प्रदेशमा हालसम्म अझै तीन मन्त्री र केही राज्यमन्त्री नियुक्त गर्न बाँकी छ । मन्त्रालयको राख्नको लागि भौतिक संरचनाको अभाव देखा परेको छ । एउटै भवनमा ५ वटासम्म मन्त्रालय स्थापना गरिएको छ । भूकम्पले क्षतिग्रस्त भवनमा समेत मन्त्रालय राखिएको छ । प्रदेशसभाको भवन बन्न सकेको छैन ।