हेटौंडामा विद्यार्थीको ‘नोबेल पुरस्कार’ प्रतियोगिता

तु खबर संवाददाता
२०७८ पुष ७, बुधबार ०८:३६

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा हल्टप्राइज प्रतियोगिता हुने भएको छ । विद्यार्थीको ‘नोबेल पुरस्कार’ भनेर चिनिने उक्त कार्यक्रम मकवानपुरमा दोस्रो पटकल लागेको हो । एउटा विचारले लाखौं मानिसलाई प्रभावित (सकारात्मक) बनाउन सकोस्, जसले मानिसले प्रत्यक्ष भोगेका समस्याका समाधान पनि गरोस् भन्ने विचारको विश्वव्यापी प्रतिस्पर्धा हो हल्टप्राइज ।

कार्यक्रम संयोजक सुशान्त खतिवडाले प्रतियोगिता मकवानपुर क्याम्पसमा गर्न लागिएको बताए । हल्ट इन्टरनेसनल विजनेस स्कुलको आयोजनामा हरेक वर्ष हुँदै आएको प्रतियोगिता सन् २००९ देखि शुरु भएको हो । फाउण्डेसनले दीगो विकासको लक्ष्यमा रहेर सामाजिक उद्यमशीलतालाई प्रोत्साहन हुने खालका कार्यक्रम गर्ने गर्दछ । सहभागीले उक्त विषयभित्र रहेर प्रतियोगिताहरु प्रस्तुत गर्नुपर्छ । यस वर्ष हुन लागेको हल्ट पुरस्कार प्रतियोगिताले २ हजार जनालाई २०२४ सालमा रोजगारी सिर्जना गर्ने उद्देश्य लिएको छ ।

कोभिड महामारीका कारण देखापरेको रोजगारी समस्या समाधान गर्ने लक्ष्यसहित मकवानपुरमा हुन लागेको प्रतियोगितामा करिब १ हजार जनाले सहभागिता जनाउने अपेक्षा लिएको कार्यक्रम संयोजक खतिवडाले बताए । क्याम्पसका विजेताले रिजनका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धाका लागि विभिन्न तालिम दिइने र सेमिनारसमेत आयोजना गरिने छ । विश्वभरबाट यस कार्यमा २ हजार भन्दा बढी विश्वविद्यालयबाट ३ लाख भन्दा बढीको सहभागिता हुनेछ । कार्यक्रको विजेताले १ मिलियन अमेरिकन डलर पाउनेछन् ।