हेटौंडाबाट सुरु भयो विद्यार्थीहरुलाई खोप लगाउने कार्यक्रम
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ स्थित भुटनदेवी माध्यामिक विद्यालयबाट कोरोनाविरुद्धको मोर्डना खोप अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले भुटनदेवी माध्यमिक विद्यालय ( प्राविधिक शिक्षालय) मा एक कार्यक्रमको आयोजना गर्दै १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि कोरोना विरुद्धको मोर्डना खोप लगाउने अभियानको सुरुवात गरेको हो ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै खोप अभियान सुरु गरेका हुन् । मन्त्री खतिवडाको रोहवरमा भुटनदेवी माध्यमिक विद्यालयका एक छात्र संगम खत्री र एक छात्रा विनिताकुमारीलाई खोप लगाएर देशभर मोर्डना खोप अभियान सुरु भएको छ । आजबाट सुरु भएको खोप अभियान अन्तर्गत मकवानपुरका १० वटा स्थानीय तहका विभिन्न विद्यालयमा ५३ हजार विद्यार्थीहरुलाई मोर्डना खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिए ।
देशभरका ५७ वटा जिल्लामा आजबाट खोप अभियान सुरु भएको मन्त्री खतिवडाले जानकारी दिए । मकवानपुर मन्त्री खतिवडाको गृह जिल्ला पनि हो भने उनी सोही स्कुलमा अध्ययन गरेका थिए । देशभरको केन्द्रविन्दु बनाएर हेटौंडाको भुटनदेवी स्कुलबाट खोप अभियान सुरु गरिएको र केही दिनभित्रै देशका ७७ वटै जिल्लामा सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए ।
मन्त्री खतिवडाले हाल कोरोना विरुद्धको खोप प्रयाप्त रहेको भएपनि खोप लगाउन मानिस नआउने गरेको गुनासो गरे । उनले सबै ठाउँका विद्यालयमा पुगेर सबै विद्यार्थीहरुलाई स्वास्थ्यकर्मीहरुले खोप लगाउने भएकाले निश्चिन्त भएर खोप अभियानमा सहभागी हुन र आफ्ना अभिभावकहरूलाई खोप लगाउन बाध्य पार्ने परिस्थिति सृजना गर्न समेत आग्रह गरे ।
‘खोपले कसैलाई हानी गर्दैन । आफूलाई सुरक्षित राख्न खोप लगाउने हो । हामीसँग प्रयाप्त मात्रामा खोप छ । कुनै पनि ठाउँमा खोप अभाव छैन । तर, खोप लगाउन मान्छे नै आउँदैनन् । सबै स्कुल स्कुलमा हामीले खोप कार्यक्रम पु¥याउने संयन्त्र तयार पारेका छौ । तपाईहरु ढुक्क भएर खोप लगाउनुस् र घरमा गएर आफ्ना आफन्तहरूलाई जसरी पनि खोप लगाउन वातावरण बनाएर सरकारलाई सहयोग गर्नुहोला ।’ उनले भने ।
उनले मकवानपुरका ९० प्रतिशतभन्दा बढी नागरिकहरुलाई खोप लगाउने वातावरण बनाउन प्रमुख जिल्ला अधिकारी र सम्बन्धित स्वास्थ्य इकाइहरुलाई निर्देशन समेत दिए । उनले विगतलाई स्मरण गर्दै भुटनदेवी स्कुलले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र व्यवस्था परिवर्तनका आन्दोलन तथा शिक्षक र विद्यार्थीहरुको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले देशभर नै सो स्कुलको चर्चा हुने गरेको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशका २ लाख बढी बालबालिकालाई कोरोना विरूद्धको मोर्डना खोप लगाउन सुरु गरिएको बताए । उनका अनुसार आजबाट बागमती प्रदेशका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा खोप अभियान शुरू भएको र अन्य जिल्लामा पनि छिटै नै खोप अभियान सुरु गरिनेछ । सबै जिल्लाका विद्यालयमा पुगेर स्वास्थ्यकर्मीले विद्यार्थीहरुलाई खोप लगाउने उनले बताए ।
