राष्ट्रियसभा सदस्य निर्वाचन : २०२५ मतदाता नामावली स्वीकृत
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २ हजार २५ जनाको मतदाता नामावली विहीबार स्वीकृत गरेको छ । आगामी माघ १२ गते हुने चुनावका लागि ५३२ प्रदेश सभा सदस्य तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १ हजार ४९३ गरी जम्मा २ हजार २५ जनाको नाम स्वीकृत भएको हो ।
निर्वाचनका लागि प्रदेश नं. १ मा २ वटा मतदान स्थल र अन्य ६ वटा प्रदेशमा १/१ वटा मतदान स्थलभित्र २÷२ वटा मतदान केन्द्र रहने गरी ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्र तोकिएका छन् । प्रदेश नं. १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय, बिराटनगर र प्रदेशसभा सदस्यहरूका लागि वाली संरक्षण प्रयोगशाला, विराटनगरमा मतदान स्थल तोकिएको छ ।
यसैगरी प्रदेश नं. २ को लागि महेन्द्र नारायण निधि भवन, बागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा तथा लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र, दाङ मतदान स्थल तोकिएको छ । यस्तै, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल रहने गरी तोकिएको जानकारी निर्वाचन आयोगले जनाएको छ ।
