पुस ४ देखि बालबालिकालाई पनि खोप लगाउँछौँ: मन्त्री खतिवडा
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बालबालिकाहरुलाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भइरहेको बताएका छन् । उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर खोप लगाइने उनको भनाई छ ।
उनका अनुसार यही पुस ४ गतेदेखि बालबालिकालाई खोप लगाइने छ । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि मोडर्ना खोप ल्याएको छ । उनले बुस्टर डोज लगाउनका लागि सरकारले नीतिगत र व्यवहारिक रुपमा तयारी गरिसकेको जानकारी दिए ।
‘महामारी फैलिँदै गयो भने बुस्टर डोज आवश्यक रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि बुस्टर डोज लगाउने बारेमा मेरो सल्लाह भइसकेको छ’, मन्त्री खतिवडाले भने, ‘थप सुरक्षित हुनका लागि दुई मात्रा लगाएका व्यक्तिले ६ महिनापछि बुस्टर डोज लगाउने हो । आवश्यक पर्दा यसका लागि सरकार तयार छ ।’
