हृदयेश त्रिपाठीले गठन गरे जनता प्रगतिशील पार्टी

तु खबर संवाददाता
२०७८ मंसिर २८, मंगलवार १६:३०

काठमाडौं । पूर्वमन्त्री हृदयेश त्रिपाठीले जनता प्रगतिशलि पार्टी गठन गरेका छन् । त्रिपाठीले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नयाँ दल गठन गरेकोघोषण गरेका हुन् । उनले अन्य दलको आलोचना गरेर आफूलाई असल देखाउने प्रतिस्पर्धामा आफ्नो रुचि नरहने बताए । अहिले देशमा वैचारिक बहस शून्य रहेको र वर्तमान अवस्थामा राज्यका तीनवटै अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन भएकाले देशको राजनीतिलाई गतिशील बनाउन नयाँ पार्टी गठन गरेको उनले बताए ।

उनले अन्य दलको आलोचना नगरी काम र सिद्धान्तले पार्टीलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । पूर्वमन्त्री त्रिपाठीले भने, ‘देशमा पार्टीको अभाव भएर यो नयाँ दलको गठन भएको होइन, अपितु वैचारिक बहस प्रायः शून्य भएको वर्तमान अवस्था तथा राज्यका तीनवटै अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावविहीन तथान गतिहीन रहेको अवस्थामा संविधानको कार्यान्वयनलाई बाधा उत्पन्न भइ देशको राजनीति नै लिकभन्दा बाहिर गइरहेको देखिन्छ ।

पूर्वमन्त्री त्रिपाठीले एमसीसी लगायतका विषयहरुमा राष्ट्रिय सहमति खोज्नुपर्नेमा जोड दिए । पूर्वमन्त्री त्रिपाठीले संविधान संशोधन, लेखा परीक्षण,स्थानीय तहको सीमांकन, मुलुकको अर्थतन्त्र, मुख्य अन्नबालीको न्यूनतम समर्थन मूल्य निर्धारण, तराई मधेशका पारम्परिक पेशाहरुको संरक्षण, जन्मको आधारमा नागरिकता पाउनुपर्ने लगायतका कुराहरुमा आफ्नो पार्टीले वैचारिक बहस गर्ने बताए ।