बसको ठक्करबाट घाइते भएका घिमिरेको मृत्यु
सर्लाही । पूर्वपश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका–१ बागवानी पुल नजिकै बसले ठक्कर दिँदा गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । गम्भीर घाइते भएको मोटरसाइकल चालक रामेछाप जिल्ला साविक सोलु गाविस–५ का ३५ वर्षीय राजेश घिमिरेको वीरगंजको मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख १४ ९९ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको घिमिरे सवार लु ७७ प ९२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट टाउकोमा चोट लागेका घिमिरेलाई तत्काल उपचारको लागि लालबन्दी पुर्याइएकोमा थप उपचारको लागि वीरगंज मेडिकल कलेजमा रिफर गरिएको थियो । उनको सोही अस्पतलामा उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । घटना लगत्तै ठक्कर दिने बस, चालक र मोटरसाइकल समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
