भालुको आक्रमणबाट दुई जना घाइते
बैतडी । बैतडीमा जङ्गली भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा पञ्चेश्वर गाउँपालिका–५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शनिबार दिउँसो घर नजिकैको जङ्गलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बोधराज ओझाले जानकारी दिए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
पहिचान नखुलेका एक जना पुरुष मृत भेटिए
जाजरकोट । नाम र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुष रुकुम आठबीसकोटमा मृतावस्थामा भेटिएको छ । आठबीसकोट नगरपालिका–६ त्रिवेणी बजारको एक होटलमा २१ गतेदेखि बसेका उनी सोही होटलमा मृत भेटिएका हुन् । शनिबार राति उनलाई मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । डोल्पा र रुकुमपश्चिमका विभिन्न बजारमा काम गर्दै हिँड्ने उनलाई सबैले ‘राई दाइ’ भनेर सम्बोधन गर्ने बताइएको छ ।
