ओमिक्रोनबाट बच्नका लागि हेटौंडाको गौरीटार आइसोलेशन तयारी अवस्थामा

तु खबर संवाददाता
२०७८ मंसिर २४, शुक्रबार ०९:०५

मकवानपुर । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका संक्रमित भेटिएपछि यसबाट बच्नका लागि हेटौंडा उपमहानगरपालिकाले तयारी थालेको छ । नयाँ प्रकारको भेरियन्ट भएकाले सचेतना जगाउने, कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने र अग्रिम तयारीमा रहने गरी काम सुरु गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिए ।

कोरोनाविरुद्ध खोपले पनि कोरोनाको ओमिक्रोन भेरियन्टका लागि काम लाग्ने भएकाले हेटौंडाका नागरिकलाई टोलटोलमा पुगेर खोप लगाइने मेयर महतले बताए । हरेक वर्ष कोरोनाको त्रास कायम रहेको बेलामा समेत फेरि कोरोनाको ओमिक्रोन भेरियन्टको समस्या आइलागेकाले यसविरुद्ध लड्न हेटौंडा उपमहानगरका करिब एक सय स्वास्थ्यकर्मी तयारी हालतमा रहेको ।

यसका लागि गौरीटार आइसोलेसन तयारी हालतमा राखिएको छ । नेपालमा ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको थियो । उनीहरु दुबैले कोरोना भाइरसविरुद्ध खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेका थिए ।