नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ १५८ मतले बिजयी

तु खबर संवाददाता
२०७८ मंसिर १९, आईतवार २१:५०

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा मकवानपुरका इन्द्रबहादुर बानियाँ १५८ मतले  विजयी भएका छन् । बानियाँले १ हजार ८५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी जगदिश्वर नरसिंह केसीले ९ सय २७ मत पाएका छन् । १३ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

हेटौंडाको वन विज्ञान अध्ययन संस्थान परिसरमा मतदान भएको हो र मतगणना भर्खरै सकिएको छ । परिणाम अनुसार, नेता बानियाँ विजयी भएका छन् । यसअघि हिजो शनिवार पनि मतदान भएको थियो । त्रिपक्षीय भिडन्तका कारण कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि आज आइतवार पुनः मतदान भएको थियो । बानियाँ, केसी र अर्का उम्मेदवार भीमसेनदास प्रधानबीच भएको प्रतिस्प्रर्धामा पनि बानियाँले ४८ प्रतिशत मत पाएका थिए । आज प्रधानले पत्रकार सम्मेलनको आयोजना गरी बानियाँलाई समर्थन गर्ने घोषणा गरेका थिए । बानियाँ सभापतिमा योग्य भएको र भोलिको मुख्यमन्त्री समेत हुने भन्दै प्रधानले बानियाँलाई विजयी गराउन आफ्ना समर्थक तथा शुभचिन्तक हरुलाई अपिल गरेका थिए ।

हेटौंडा निवासी बानियाँ बागमती प्रदेशसभा संसदीय दलका नेता समेत हुन्  । हेटौंडामा जारी रहेको कांग्रेसको अधिवेशनमा १३ जिल्लाका २ हजार १ सय ५१ प्रतिनिधि मतदाता रहेका छन् । ती मध्ये हिजो शनिवार पहिलो मतदानमा २ हजार ८३ मत खसेको थियो भने आज भएको मतदानमा २ हजार २५ मत मात्रै खसेको छ जून हिजो भएको मतदानमा खसेको मतभन्दा ५८ मत कम हो ।

यसअघि बानियाँलाई सभापति जिताउन कांग्रेस सहमहामन्त्री प्रकाश शरण महत, केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायलगायतका नेता सक्रिय रहेका थिए । उता, केसीलाई विजयी गराउने उद्धेश्यका साथ प्रकाशमान सिंह, रामशरण महत, गगन थापाहरु लागि परेका थिए । बानियाँको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस सहमहामन्त्री प्रकाश शरण महतले बानियाँलाई जिताउन अपिल गरेका थिए । समृद्ध बागमती बनाउने योजना बानियाँसँग मात्रै रहेको हुनाले बानियाँलाई अत्याधिक मत दिन उनको आग्रह थियो ।