कांग्रेसको बागमती प्रदेश अधिवेशन: सभापतिका उम्मेदवार बानियाँले गरे मतदान
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशन हेटौंडामा जारी छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा जारी मतदानमा प्रदेश सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले मतदान गरेका छन् । मकवानपुर सभापति एवम् संसदीय दलका नेतासमेत रहेका बानियाँले निर्वाचन सुरु भएको करिब १ घण्टा पछि मात्रै मतदान गरेका हुन् ।
कम मतदाता भएका ३ वटा जिल्लाको लागि एउटा, काठमाडौँको लागि ३ वटा र अन्य जिल्लाको लागि १/१ वटा गरी कूल १० वटा मतदान केन्द्र बनाइएको छ । मतपत्र छपाइको काम तोकिएको समयभन्दा ढिलो भएपछि मतदान ४ बजे मात्रै सुरु भएको हो । मतदानस्तल वरपर टाँसिएको उम्मेदवारहरुको प्रचार सामग्री हटाइएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मतदाता लामबद्ध भएर मतदान प्रक्रियामा सहभागि भइरहेका छन् । अधिवेशनमा १ हजार २४५ केन्द्रीय महाधिवेशन प्रतिनिधि, ८७६ प्रदेश प्रतिनिधि र १६ केन्द्रीय सदस्य गरी जम्मा २ हजार १३७ जनाले नयाँ नेतृत्व चयनका लागी सहभागीता जनाउँदै छन् । फरेष्टीको मुल गेटमा कांग्रेसका नेता तथा कार्यकर्ताले आ–आफ्नो प्यानलका उम्मेदवारको लागि मत मागिरहेका छन् ।
प्रदेश अधिवेशनले एक सभापति, दुई उप–सभापति, दुई महामन्त्री र एक महिलासहित तीन सह–महामन्त्री, सदस्यहरूमा प्रत्येक जिल्ला २ जनाको दरले २६ जना, प्रदेश सभाको कुल निर्वाचन क्षेत्रबाट २२ जना, खस आर्यबाट १२ जना, आदिवासी जनजातितर्फबाट १७ जना, मधेसीबाट १ जना, दलितबाट २ जना, थारुबाट १ जना, मुस्लिमबाट १ जना र अल्पसङ्ख्यक वा अपाङ्गता मध्येबाट १ जना गरी ९१ जनाको प्रदेश समिति निर्वाचित गर्नेछ ।
