कांग्रेस बागमती प्रदेश अधिवेशनः सभापतिमा बानियाँ, केसी र प्रधानको उम्मेदवारी दर्ता
मकवानपुर । नेपाली कांग्रेसको बागमती प्रदेश अधिवेशनमा सभापति पदका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । मकवानपुर सभापति एवम् प्रदेश संसदीय दलका नेता इन्द्रबहादु बानियाँले संस्थापन पक्षबाट उम्मेदवारी दर्ता गराएका छन् भने बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका पूर्व सभापतिसमेत रहेका जगदीश्वरनरसिं केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी दर्ता गराएका हुन् ।
बानियाँको प्यानलबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्काले उम्मेदवारी दर्ता गराएका छन् । बानियाँको प्रस्तावक तथा समर्थकमा क्रमश तीर्थ लामा र दुर्लभ थापा रहेका छन् ।
त्यस्तै केसीको प्यानलबाट उपसभापतिमा मोहनबहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा रामचन्द्र अर्याल माइकल र कञ्चनचन्द्र बादे, सहमहामन्त्रीमा दिलबहादुर तामाङ, ऋषिराम घिमिरे र जीवन डंगोलले उम्मेदवारी दिएका छन् । उनको प्यानलबाट पदाधिकारीले मात्रै उम्मेदवारी दिएको जनाइएको छ । केसीको प्रस्तावकमा मधुप्रसाद आचार्य र समर्थकमा कृष्ण बानियाँ रहेका छन् ।
यता सभापतिकै उम्मेदवार भीमसेन दास प्रधानको प्रस्तावकमा शिवप्रसाद हुमागाईं र समर्थकमा कुन्दनराज काफ्ले रहेको निर्वाचन समितिले जनाएको छ । अधिवेशन अन्तरगत भोलि मंसिर १८ गते बिहान ९ बजेदेखि मतदान हुनेछ । प्रदेश प्रतिनिधिको रुपमा चुनिएर आएका करिब २ हजार १ सय जना मतदाताले निर्वाचनमा मतदान गर्दैछन् । सो अधिवेशनबाट प्रदेश सभापति १ जना, उपसभापति २ जना, महामन्त्री २ जना, सहमहामन्त्री २ जनासहित ९१ सदस्यीय कार्यसमिति निर्वाचित हुने छ ।
