कांग्रेस बागमती प्रदेश सभापतिमा प्रधानको उम्मेदवारी
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि भीमसेन दास प्रधानले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस बागमतीको हेटौंडामा जारी अधिवेशनमा सभापतिको लागि दासले उम्मेदवारी दर्ता गराएका हुन् । उनले कृष्णप्रसाद सिटौला पक्षको तर्फबाट कांग्रेस बागमतीको सभापति पदमा उम्मेदवार दर्ता गराएको प्रदेश निर्वाचन समिति बागमती प्रदेशका संयोजक वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार, उम्मेदवार भीमसेन दास प्रधानको प्रस्तावकमा शिवप्रसाद हुमागाई र सर्मथकमा कुन्दनराज काफ्ले रहेका छन् । आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तालिका तोकिएको थियो । कांग्रेस सभापति पदका लागि यसअघि जगदीश्वरनरसिंह केसी र इन्द्रबहादुर बानियाँले पनि आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् । यससँगै बागमती प्रदेश सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनअन्तर्गत भोलि मंसिर १८ गते बिहान ९ बजेदेखि मतदान हुनेछ । प्रदेश प्रतिनिधिको रुपमा चुनिएर आएका करिब २ हजार १ सय जना मतदाताले निर्वाचनमा मतदान गर्नेछन् । उक्त अधिवेशनबाट प्रदेश सभापति १ जना, उपसभापति २ जना, महामन्त्री २ जना, सहमहामन्त्री ३ जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ । प्रदेशको संरचनाअनुसार कांग्रेसको प्रदेश निर्वाचन पहिलोपटक हुन लागेको हो ।
