एमाले केन्द्रीय सदस्यमा निर्वाचित मकवानपुरका चार नेता सम्मानित
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर र हेटौंडा नगर कमिटीले पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई सम्मान गरेको छ । चितवनमा सम्पन्न पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा मकवानपुरबाट निर्वाचित भएका ४ जना केन्द्रीय सदस्यहरुलाई आज (बिहिबार) हेटौंडामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको एमाले मकवानपुरले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा मकवानपुरका रामेश्वर राना, कृष्ण प्रसाद दाहाल, जुनेली श्रेष्ठ र भारती पाठकलाई सम्मान गरिएको हो । उनीहरुलाई एमाले मकवानपुरका अध्यक्ष बद्री लम्सालले टिका, खादा तथा डायरीसहित सम्मान गरेका हुन् ।
कार्यक्रममा नेकपा एमाले बागमती सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुलगायत विभिन्न जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

