विचार फरक भएपनि राष्ट्रियता र लोकतन्त्रमा सबैको एक मत : देउवा

तु खबर संवाददाता
२०७८ मंसिर १५, बुधबार १६:०६
file-photo

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग पार्टीगत विचार फरक भएपनि राष्ट्रियता र लोकतन्त्रमा सबैको एक मत रहेको बताएका छन् । बुधबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् ।

‘हाम्रो पार्टीगत विचारहरु फरक फरक छन् । तर राष्ट्रियता र लोकतन्त्रमा हामी सबैको एउटै मत छ,’ देउवाले भने । उनले तीन वटा पार्टी मिलेर एकता महाधिवेशन हुन लागेकोमा शुभकामना दिँदै धेरै दल हुनुभन्दा कम दल हुनु राम्रा भएको बताए । उनले भने, ‘पशुपतिशमशेर राणाजीले अध्यक्षता गर्नु भएको पार्टी, कमल थापाजीले अध्यक्षता गर्नुभएको पार्टी र प्रकाशचन्द्र लोहनीजीले अध्यक्ष गरेका पार्टी एक भएर महाधिवेशन गर्नुभएको छ । धेरै दल हुनुभन्दा कम दल हुन राम्रो हो ।’

प्रधानमन्त्री देउवाले राणा, थापा र लोहनीले एकतामा महाधिवेशन गरेर महत्वपूर्ण कदम चालेको बताउँदै पार्टी एकता हुनु राम्रो र त्यसले लोकतन्त्रलाई बलियो बनाउने बताए । उनले भने, ‘तपाईंहरुले महत्वपूर्ण स्टेप चाल्नु भएको । पार्टी मिल्नु राम्रो हो । जति पार्टी एक हुन्छन् त्यतिनै लोकतन्त्र बलियो हुन्छ ।,’ अहिले सबै पार्टीको महाधिवेशन भइरहेको बताउँदै उनले आफ्नो पार्टीको पनि यही मंसिर २४ गतेदेखि महाधिवेशन हुने जानकारी गराए ।