कांग्रेस बागमती प्रदेश अधिवेशन : पौडेल पक्षबाट मकवानपुरका माइकल र न्यौपानेको दावी
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागमती प्रदेशको आसन्न १६ र १७ गते हेटौंडामा हुने अधिवेशनमा बरिष्ठ नेता रामचन्द्र पौडेलपक्षबाट मकवानपुरका २ जनाले दावी गरेका छन् । कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने र प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्यालले प्रदेश सभापतिमा दावी गरेका हुन् ।
त्यस्तै संस्थापन पक्षबाट प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले उम्मेदवारी अघि सारेका छन् । उनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयास भइरहेको र सहमति नजुटे निर्वाचनमा जान तयार रहेको बताएका छन् । उनले १३ वटै जिल्लामा कांग्रेसको चुस्त दुरुस्त संगठन निर्माणको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
कांग्रेस स्रोतका अनुसार वरिष्ठ नेता पौडेल पक्षबाट सभापतिमा सात जनाले दावी गरेका छन् । मकवानपुरका माइकल र न्यौपानेसहित नेता मधु आचार्य, जगदीश्वर नरसिंह केसी, रमेश धमला, राजुराज जोशी र रामचन्द्र खड्काले दावी गरेका हुन् । आइतबार कांग्रेस नेता प्रकाशमान सिंहले पौडेलपक्षका सबै आकांक्षीसँग छलफल गरेको जनाइएको छ । सहमतिका लागि छलफल भएको भएपनि सबैले आफूलाई नै बलियो उम्मेदवारको रुपमा दावी गरेपछि सोमबार पुनः छलफल गरिने भएको छ ।
पौडेलपक्षबाट पूर्वमहामन्त्री सिंह, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. रामशरण महत, गगनकुमार थापालगायतका नेताहरुले छलफल गरेर उम्मेदवार टुंगो लगाउने तयारी छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहनिकट काठमाडौंका पूर्वसभापति भीमसेनदास प्रधानले भने उम्मेदवारी घोषणा गरिसकेका छन् ।
