बागमती प्रदेश सभापतिको तयारीमा जुटे कांग्रेस नेता बानियाँ
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आगामी मंसिर १६ र १७ गते हेटौंडामा हुने बागमती प्रदेश समितिको अधिवेशनमा कांग्रेस नेता इन्द्रबहादुर बानियाँले सभापति पदमा उम्मेदवारी घोषणा गरी तयारीमा जुटेका छन् । बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापतिसमेत रहेका बानियाँले सकेसम्म सर्वसम्मत रुपमै नेतृत्व लिने आन्तरिक तयारीमा जुटेका हुन् ।
संघीयताको अभ्यासपछि कांग्रेसको पहिलो पटक हुन लागेको प्रादेशिक अधिवेशनमा आफ्नो उम्मेदवारी कांग्रेसको संगठनलाई चुस्तदुरुस्त बनाउँदै पार्टीको गरिमालाई थप उँचो बनाउन रहेको बताए । उनी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेता कृष्ण सिटौलालगायत शीर्ष नेतृत्वसँग सहमति जुटाउने प्रयासमा छन् ।
सहमति नजुटेपनि निर्वाचन प्रक्रियामा जाने गरी बानियाँले आन्तरिक तयारी गरिसकेका छन् । बानियाँलाई संस्थापन र इतर समूह दुबैको सहयोग रहने दावी गरिएको छ । बानियाँले आन्तरिक ढंगले छलफललाई अघि बढाउनुका साथै प्रदेश समितिमा सबै क्षेत्र र वर्गको प्रतिनिधित्व हुने गरी खाका तयार गरिरहेका छन् ।
बानियाँ मकवानपुरमा २०७० सालको संविधानसभा निर्वाचनमा कम्युनिष्टको किल्ला तोड्दै संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । त्यसयता उनको छवि दर्बिलो बन्दै गएको थियो ।
कार्यकर्ताको कुशल संरक्षकका साथै विकासको नेतृत्वकर्ताको रुपमा चिनिएका बानियाँ २०७४ सालमा मकवानपुर संघीय क्षेत्र २ को ख बाट प्रत्यक्षतर्फ बागमती प्रदेशसभा सदस्य निर्वाचित भए । कांग्रेसबाट निर्वाचित २२ सदस्य सांसद रहेको प्रदेशसभामा बानियाँ सर्वसम्मत रुपमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता चुनिए । तत्कालीन बहुमत प्राप्त नेकपा एमाले नेतृत्वको प्रदेश सरकार हुँदा बलियो प्रमुख प्रतिपक्ष र सशक्त प्रतिपक्षी दलको रुपमा नेपाली कांग्रेसलाई उभ्याउन बानियाँले योगदान गरेको उनी निकट नेताहरु बताउँछन् ।
२०४४ सालदेखि राजनीतिमा होमिएका बानियाँ नेपाल विद्यार्थी संघ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको समेत अनुभव हासिल गर्दै २०७३ सालमा कांग्रेस मकवानपुरका सभापति भएका थिए । उनले २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
