माओवादी मकवानपुरको १० औं स्थानीय तहको सम्मेलन मंसिर १३ मा

तु खबर संवाददाता
२०७८ मंसिर ११, शनिबार ०८:१५

मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समितिको बैठक शक्रबार सम्पन्न भएको छ । पार्टी मकवानपुर जिल्ला इञ्चार्ज तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता एवम् पार्टी जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामीको सभाध्यक्षतामा बैठक बसेको हो ।

बैठकले पार्टी केन्द्रले गरेको सर्कुलरअनुसार मंसिर १३ गते जिल्लास्थित १० औं स्थानीय तहको सम्मेलन गर्न पालिकास्तरीय पार्टी कमिटीलाई निर्देशन दिएको नेकपा माओवादी केन्द्र मकवानपुर प्रचार विभाग प्रमुख कमानसिं पाखिनले जानकारी दिए । मकवानपुरका एक उपमहानगर, एक नगर र आठ पालिकाको सम्मेलन एकैदिन गर्न लागिएको उनले बताए । पार्टीले जारी गरेको अन्तरिम निर्वाचन निर्देशिकाअनुसार महानगरमा चार सय, उपमहानगरमा तीन सय, नगरमा दुई सय, गाउँपालिमा एक सय ५० प्रतिनिधि निर्वाचित गराएर सम्मेलन गर्नुपर्नेछ ।

अब माओवादीको महानगरमा ९९, उपमहानगरमा ८१, नगरपालिकामा ६५ र पालिकामा ५५ जनाको कमिटी निर्वाचित हुने निर्देशिकामा उल्लेख छ। बैठकमा प्रदेश कमिटी सचिवालय सदस्य विष्णु बिष्ट (आदर्श), प्रदेश कमिटी सदस्य भीम पाखिन, प्रहलाद लामिछाने, ललित घलान, वीरबहादुर घलानसहित जिल्ला सचिवालय सदस्यहरु, पालिका इञ्चार्ज तथा अध्यक्षहरुको उपस्थिति थियो ।