ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु
जनकपुर । बालुवा लोड गरेको ट्र्याक्टरमा च्यापिएर धनुषाको नक्टाझिजमा आज ट्र्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ज १ त ४१७२ नम्बरको ट्र्याक्टरका चालक धनुषाको मिथिला नगरपालिका–७ निवासी २५ वर्षीय चेतन महतो रहेको प्रहरीले जनाएको छ । लोड गरिएको बालुवा झार्ने क्रममा अचानक इन्जिनमाथि उठ्दा च्यापिएर चालक महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । शव परीक्षणको लागि प्रादेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पुजारी बज्राचार्यको हृदयाघातबाट मृत्यु
गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि गुठी संस्थानबाट खटिई आउनुभएका एक गुर्जु (पुजारी) को हृदयाघातबाट मृत्यु भएको छ । हरेक वर्षमा दुई पटक मनकामना मन्दिरमा लाग्ने पर्व पूजाका लागि आउनुभएका काठमाडौँ महानगरपालिका–४ का रत्नराज बज्राचार्यको हृदयाघातबाट गए राति निधन भएको मनकामनाका स्थानीय दिनेश जोशीले जानकारी दिए ।
पुजारी बज्राचार्यको राति १० बजे स्वास्थ्यमा समस्या आएको र केही क्षणमा नै मृत्यु भएको जोशीले बताए । घटनाको जानकारी पाएलगत्तै प्रहरीको एकटोली अनुसन्धानका लागि मनकामना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
