एमाले महाधिवेशन : हेटौंडामा मोटसाइकल र्याली

तु खबर संवाददाता
२०७८ मंसिर ७, मंगलवार १७:५५

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले आज (मंगलबार) हेटौंडामा बृहत मोटरसाइकल र्यालीको आयोजना गरेको छ । यही मंसिर १० गते चितवनमा हुने नेकपा एमालेको १० औं महाधिवेशनको पूर्व सन्धायमा प्रचारप्रसारको लागि हेटौंडामा बृहत मोटरसाइकल र्यालीको आयोजना गरेको एमाले मकवानपुरले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित हुप्राचौरबाट सुरु भएको उक्त र्याली एचआइडी, गौरीटार, चौघडा, कान्तिराजपथ, मानसचोक हुँदै सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍र्यालीमा १ हजार मोटरसाइकल रहेको थियो । र्यालीमा हेटौंडा उपमहानपालिकाको १९ वटै वडा, बकैया, बागमती, मनहरी, मकवानपुगढी, भीमफेदीलगायत मकवानपुरको विभिन्न स्थानीय तहमा रहेका एमाले नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

उक्त र्यालीमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं एमालेका केन्द्रीय सदस्य डोरमणी पौडेल, एमाले जिल्ला अध्यक्ष बद्री लम्साललगायत एमाले प्रदेश सदस्यहरु, जिल्ला सदस्यहरुसहित भातृ संगठनका जिल्ला प्रमुखहरुसहितको सहभागिता रहेको थियो । यस्तै, एमाले मकवानपुरले यही मंसिर १० गते चितवनको नारायणघाटस्थित नारायणी नदी किनारमा हुने राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा मकवानपुरबाट पनि उल्लेख्य मात्रामा जनसहभागिता रहने एमाले मकवानपुरले जनाएको छ ।

महाधिवेशनको उद्घाटन सत्रका लागि मकवानपुरबाट २ हजार मोटरसाइकल, ५ सय सानो सवारी तथा २ सय वटा बससहितको र्याली गर्दै सहभागीहरू लगिने भएको हो । महाधिवेशन प्रचारका लागि एमाले मकवानपुरको विभिन्न भ्रातृ संगठन तथा पार्टी कमिटीले मकवानपुरको रातोमाटेबाट मनहरीसम्म दुई दर्जनभन्दा धेरै स्वागत गेट निर्माण गर्ने जनाइएको छ