एमाले महाधिवेशन : हेटौंडामा आज बृहत मोटरसाइकल र्याली हुने
मकवानपुर । नेकपा एमाले मकवानपुरको आयोजनामा आज (मंगलबार) हेटौंडामा बृहत मोटरसाइकल र्याली हुने भएको छ । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लागि एमाले मकवानपुरले बृहत र्यालीको आयोजना गर्ने भएको हो ।
महाधिवेशनको पूर्व सन्धायमा महाधिवेशनको प्रचार प्रसारको लागि उक्त मोटरसाईकल र्यालीको आयोजना गरिएको एमाले मकवानापुरका सचिव एवम् र्याली व्यवस्थापन समितिका संयोजक एकलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार मोटरसाईकल र्याली आज दिउँसो १ बजे हेटौंडा ४ स्थित हुप्राचौरबाट सुरु हुनेछ ।
हुप्रचौरबाट औद्यौगीक क्षेत्र हुँदै चिसापानी, चौघोडा, सोनोपोखरा, कान्तिराजपथ, मानसचोक, चौकीटोल हुँदै बुद्धचोक, राप्तीरोडबाट बाईपास हुँदै मेनरोडबाट सिमाचोकमा आईपुगेर कोणसभामा परिणत हुने सचिव श्रेष्ठले बताए । सचिव श्रेष्ठले सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक एवं शुभचिन्तकहरुलाई र्यालीमा सहभागि हुन अनुरोध गरेका छन् ।
यस्तै, एमाले मकवानपुरले यही मंसिर १० गते चितवनको नारायणघाटस्थित नारायणी नदी किनारमा हुने राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा मकवानपुरबाट पनि उल्लेख्य मात्रामा जनसहभागिता रहने जनाइएको छ । उनले महाधिवेशनको उद्घाटन सत्रका लागि मकवानपुरबाट २ हजार मोटरसाइकल, ५ सय सानो सवारी तथा २ सय वटा बससहितको र्याली गर्दै सहभागीहरू लगिने भएको छ । महाधिवेशन प्रचारका लागि एमाले मकवानपुरको विभिन्न भ्रातृ संगठन तथा पार्टी कमिटीले मकवानपुरको रातोमाटेबाट मनहरीसम्म दुई दर्जनभन्दा धेरै स्वागत गेट निर्माण गर्ने सचिव क्षेष्ठले बताए ।
