नेकपा एमाले महाधिवेशन : थप एक सय ट्राफिक प्रहरी परिचालन गर्ने
चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै जिल्लामा थप एक सय जनाभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । महाधिवेशनको उद्घाटनमा धेरै सवारीसाधन आउने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा थप प्रहरी परिचालन गर्न लागिएको हो । यातायात प्रबन्ध समितिका संयोजक कृष्ण भुर्तेलले महाविधेशन उद्घाटनका दिन जिल्लाको यातायात व्यवस्थापनलाई सहज बनाउन थप जनशक्ति परिचालन गर्ने गरी काम भइरहेको जानकारी दिए ।
मंसिर ९ गतेदेखि नै नारायणगढ र भरतपुर क्षेत्रलाई केन्द्रीत गरेर ट्राफिक प्रहरीको थप जनशक्ति परिचालन गर्नेगरी समन्वय भएको भुर्तेलले जानकारी दिए । महाधिवेशन उद्घाटनका दिन आउने सवारीसाधनलाई व्यवस्थित गर्दै यातायातको सहज आवागमन गराउनका लागि अहिलेबाटै गृहकार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भगवानराज थापाले बताए ।
जिल्लामा हाल ४० जना ट्राफिक प्रहरीले काम गरिरहेका भन्दै थप एक सय जना जनशक्तिले ट्राफिक व्यवस्थापनको काम गर्ने थापाले बताए । उनका अनुसार महाधिवेशनमा भाग लिन पश्चिमका जिल्लाबाट आउने सवारीसाधनलाई नवलपरासीको गैँडाकोटमा, पूर्वबाट आउने सवारीसाधनलाई केन्द्रीय बस टर्मिनल लगायतका ठाउँमा नारायणगढ मुग्लिन सडक हुँदै आउने सवारीसाधनलाई नेपाल ट्रष्टको कार्यालय, पश्चिम चितवन क्षेत्रबाट आउने सवारीसाधनलाई बेलचोक क्षेत्र र वागीश्वरीमा तथा चितवनकै कालिका नगरपालिकासहितका स्थानबाट आउने सवारीसाधनलाई वीरेन्द्र क्याम्पसको नौ बिघा चौरमा व्यवस्थापन गरिदैछ ।
महाधिवेशन उद्घाटनका दिन सवारी साधनलाई कुन तरिकाले सञ्चालन गर्न दिने भन्ने विषयमा छलफल भइरहेको थापाले बताए । एमालेको राष्ट्रिय महाधिवेशनमा पाँच लाख मानिस उतार्नेगरी काम भइरहेका जनपरिचालन समितिले जनाएको छ ।
मोटरसाइलक र्यालीको तयारी पूरा
एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको प्रचार गर्नका लागि आयोजित मोटरसाइलक र्यालीको तयारी पूरा भएको छ । यही मङ्सिर १० मा चितवनको नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटनका लागि भोलि मङ्गलबार बृहत् मोटरसाइलक ¥यालीको आयोजना गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा भेला भएर दिउँसो १ बजे मोटरसाइकल ¥याली निस्कने तयारी भएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले बताए ।
र्यालीको संयोजन युवा संघ नेपाल चितवनले गरेको छ । मोटरसाइलक र्यालीमा बृहत् सहभागिता जनाउनेगरी तयारी भएको संयोजक सुवेदीले बताए । भोलि मङ्गलबार दिउँसो १ बजे नारायणी नदी किनारबाट सुरु हुने मोटरसाइलक ¥यालीले भरतपुर महानगरपालिकाका विभिन्न भागहरु परिक्रमा गर्दै पुनः नदी किनारमा पुगेर समापन हुने सुवेदीको भनाई छ ।
