एमाले महाधिवेशन : उद्घाटन मञ्चको काम ४० प्रतिशत सकियो
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन उद्घाटन स्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गरिने भएको छ । नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै मञ्च निर्माण भइरहेको मञ्च व्यवस्थापन समिति संयोजक एवम् एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले जानकारी दिए ।
प्रचार सहयोग समिति चितवनले महाधिवेशनको तयारीका सम्बन्धमा आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले पाँच लाख नागरिकले सजिलै हेर्न मिल्ने गरी मञ्च निर्माणको काम भइरहेको बताए । उनका अनुसार एकै स्थानबाट पाँच लाख मानिसले उद्घाटन सत्र अवलोकन गर्न नसक्ने भएकाले विभिन्न स्थानबाट लाइभ प्रशारण गरिनेछ ।
उद्घाटन सत्र लाइभ गर्नका लागि भिडियो क्यामेराका साथै कम्तिमा दुई वटा ड्रोन क्यामेरा समेत प्रयोग गरिने श्रेष्ठले बताए । मंसिर ९ गते हस्तान्तरण गर्ने गरी मञ्च निर्माणको काम भइरहेको भन्दै श्रेष्ठले हालसम्म मञ्च निर्माणको ४० प्रतिशत काम सकिएको बताए ।
त्यसैगरी सौराहामा बन्दसत्र हुने हल निर्माणको काम समेत आजदेखि नै सुरु भइसकेको श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेललनमा अनुगमन समितिको संयोजकमा काशिनाथ अधिकारीले महाधिवेशनको कामहरुको नियमित अनुगमन भइरहेको बताए । समितिले कामलाई थप गति दिन आवश्यकता अनुसार जनशक्तिको व्यवस्थापन समेत गरेको उनको भनाइ छ । महाधिवेशन तयारीको कामले हिजोदेखि गति समातेको भन्दै अधिकारीले जनसहभागिता जुुटाउन गाउँगाउँमा घरदैलो कार्यक्रम जारी रहेको पनि बताए ।
मङ्सिर १० गते हुने उद्घाटन सत्रमा सहभागी हुनका लागि विभिन्न ६ स्थानबाट र्याली निकाल्ने गरी तयारी भइरहेको अधिकारीले बताए । गैँडाकोट, आँपटारी, विशाल चोक, केन्द्रीय बस टर्मिनल, त्रिचोक, बेलचोकबाट र्याली निकाल्दै व्यापक जनसहभागिता जुटाउने गरी तयारी भइरहेको अधिकारीको भनाइ छ ।
पत्रकार सम्मेलनमा क्षेत्रीय प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जिल्लामा विभिन्न ६ वटा समिति निर्माण गरेर काम अगाडि बढाइएको बताए । व्यापक जनसहभागिता जुटाउनका लागि जिल्लाका ९८ वटै वडा कमिटी, दुई वटा शाखा कमिटी र पार्टीका सबै जनवर्गीय संगठनहरु परिचालन भइरहेको सुवेदीले बताए । जिल्लामा निर्माण गरिएका सबै समितिहरुले आफ्नो कामलाई तीव्ररुपमा अगाडि बढाइरहेको र सुरक्षा निकायहरुसँग सहकार्य गरेर ट्राफिक व्यवस्थापन सहित सुरक्षाको काम भइरहेका उनको भनाई छ ।
