हेटौंडाका सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम संचालन गर्न आग्रह

तु खबर संवाददाता
२०७८ कार्तिक २६, शुक्रबार १७:२९

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम संचालन गर्न आग्रह गरिएको छ । हेटौंडा उपमहानगरपालिका अन्तरग शिक्षा विकास महाशाखाले आज (शुक्रबार) एक सूचना जारी गरी आगामी कात्तिक २८ गतेदेखि सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम संचालन गर्न आग्रह गरेको हो ।

कोरोना महामारीका कारण विद्यालय बन्द भएसँगै ५ महिना भन्दा बढी रोकिएको सो कार्यक्रम पुनः सञ्चालन हुने भएको हो । विद्यालय पूर्ण रुपमा सञ्चालन हुने भएकाले दिवा खाजा पनि सुरु गर्न आग्रह गरिएको हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका प्रमूख गंगाधर रिमालले जानकारी दिए । महाशाखाका प्रमूख रिमालद्वारा जारी सूचनामा हेटौंडा उपमहानगरपालिकाका सबै सामुदायिक विद्यालयले प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुका लागि दिवा खाजा संचालन गर्न भनिएको छ । उपमहानगरमा मात्र ७६ वटा सामुदायिक विद्यालय रहेका छन् ।