प्रधानन्यायाधीशसँग वार्ता गर्ने जिम्मा न्यायाधीशहरु सिन्हा मल्ल र शर्मालाई
काठमाडौँ । बेन्च बहिस्कार गर्दै आएका न्यायाधीशहरुले समस्याको समाधानको लागि प्रधानन्यायाधीशसँग पुनः बार्ता गर्ने निर्णय गरेका छन् । आइतबार सर्वोच्च अदालतका न्याधीशहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँग छलफल गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीशसँगको भेटमा गएका न्यायाधीशहरूले प्रधानन्यायाधीशको धारणासमेत बुझ्ने र त्यसबारे आन्तरिक छलफल गरी सोमबार थप रणनीति बनाइने जनाइएको छ । छलफलको लागि वातावरण बनाउन आइतबार नै प्रधानन्यायाधीशलाई जानकारी दिइसकिएको छ ।
न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर बहिर्गमन हुनु नै उपयुक्त निकास भएको ठहरसमेत गरेको छ । यसका लागि प्रधानन्यायाधीशले केही समय मागेको खण्डमा समय दिने निर्णयसमेत भएको बताइएको छ । यद्यपि, बैठकले प्रधानन्यायाधीशको बहिर्गमन नै हुनुपर्ने अडान लिएको छ ।
प्रधानन्यायाधीश जबरासँग वार्ताका लागि न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई जिम्मा दिइएको छ । उनीहरुलाई प्रधानन्यायाधीश जबराको बहिर्गमन कसरी सहज हुन्छ भन्ने विषयमा छलफल गर्ने जिम्मेवारी दिइएको स्रोतले बताएको छ ।
