सुर्खेतबाट काठमाडौं जाँदै गरेको बसमा आगलागी
काठमाडौं । धादिङको गजुरीमा सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रु बसमा आगलागी भएको छ । ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आज (आइतबार) बिहान २ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार, गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको हो ।
आगलागीबाट बसमा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बसमा सवार यात्रुहरु भने सकुशल रहेका छन् । बसभित्र धुँवा देखिएलगत्तै चालकले बस रोकेर यात्रुहरुलाई बाहिर निकालेका थिए । त्यसैले मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । बसमा लागेको आगो प्रहरी र स्थानीय मिलेर नियन्त्रणमा लिएको जनाइएको छ । आगो के–कति कारण लाग्यो भन्ने विषयमा हाल खुल्लन नसकेको र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको धादिङ प्रहरीले जनाएको छ ।
५ वर्षीय बालक खोलामा बेपत्ता
बाग्लुङ । बागलुङको ढोरपाटन नगरपालिका– ७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । शनिबार साँझ भुजीखोलामा साथीसँग खेल्न भनी गएका ढोरपाटन –७ धाराबोटका दिलबहादुर विकका ५ वर्षीय छोरा जीवन विक बेपत्ता भएको प्रहरीले जनाएको छ । उनी साथीसँग खेल्ने क्रममा भुजीखोलामा रहेको साघुँबाट खसेका स्थानीयवासीले बताएका छन् ।
नमूना बाल विकास धारकोटमा अध्यननरत विक दिउँसो खेल्दाखेल्दै खोलामा पुगेका थिए । बेपत्ता विकको खोजीका लागि प्रहरी चौकी बुर्तिबाङ बागलुङबाट ५ जनाको टोली खटिएको जनाइएको छ । नजिकै रहेको पुलको विकल्पमा अस्थायीरूपमा बनाइएको साँघुमा उनीहरु पुगेको प्रहरी चौकी ढोरपाटनले जनाएको छ ।
