बर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिबारे विवरण संकलन गरिँदै

तु खबर संवाददाता
२०७८ कार्तिक ३, बुधबार १३:२७

मकवानपुर । अविरल बर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरिने भएको छ । आइतबारबाट बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुलीलगायतका जिल्लाहरुमा कृषि बालीमा भएको क्षतिको लगत संकलन कार्य सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

‘र्यापिड रेस्पोन्स टीम’ गठन गरेर मन्त्रालयले तत्काल कृषि बालीमा पुगेको क्षतिको विवरण संकलन गर्ने र प्रभावित कृषकका लागि नीतिगत रुपमा सम्बोधनको प्रयास गरिने तयारीका साथ काम गरिरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार वर्षाका कारण उत्पन्न यस विषम परिस्थितिले अप्रत्यासित रुपमा बालीमा भएको नोक्सानीबाट कृषकहरुले व्यहोर्नुपरेको आर्थिक क्षतिका सम्बन्धमा मन्त्रालयले राहत उपलब्ध गराउने तयारी छ ।

मन्त्रालयले वर्षाका कारण कृषकमा परेको असरका बारेमा थप योजना तयार पार्न तथा क्षतिको यथार्थ विवरण एकिन गरी सम्बन्धित कृषि ज्ञान केन्द्र वा मन्त्रालयमा सम्पर्क गरी उपलब्ध गराउनसमेत आग्रह गरेको छ । मन्त्रालयले आपतकालीन, आकस्मिक रोग/क्षति न्यूनीकरण कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षका लागि विनियोजन गरेको १ करोड रकमलाई आवश्यकता र क्षतिको तथ्याङ्कका आधारमा कार्यविधि निर्माण गरी कृषकलाई राहत स्वरुप उपलब्ध गराउने तयारी गरेको जनाइएको छ ।