धनकुटामा पहिराले घर पुरिँदा ६ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ कार्तिक ३, बुधबार १०:४३

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–१, बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । गएराति घरमाथिबाट खसेको पहिरोले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा श्रेष्ठसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मृत्यु हुनेमा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका ९ वर्षीय नाति विनोद श्रेष्ठ, ५ वर्षीया नातिनी निर्जला श्रेष्ठ, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीय दिप्सन श्रेष्ठ रहेका छन् । उक्त पहिरोमा परेर अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लिला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठ, ३३ वर्षीया उषा श्रेष्ठ, ११ वर्षीय सञ्जाल श्रेष्ठ र २८ वर्षीय चन्द्रकुमार श्रेष्ठ रहेका छन् ।

घाइतेमध्ये भेषबहादुर, लिला श्रेष्ठ र गणितकुमारीको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते हुनेमा भीमबहादुरको परिवारका सदस्य र आफन्त छन् । घाइतेको उद्धारका लागि लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा समस्या भएको हुँदा नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि उनीहरुलाई लैजाने तयारी भइहेको प्रहरीले जनाएको छ ।