आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशभर धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश १, प्रदेश न २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू र बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेश र प्रदेश न १ का केही स्थानहरू र प्रदेश न २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बागमती प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ महाशाखाले जनाएको छ
