बोक्सीको आरोपमा देवरले भाउजुको हत्या गरेको प्रहरी दावी
महोत्तरी । बोक्सीको आरोपमा एक महिलाको हत्या गरिएको छ । अर्की एक महिलालाई मलमुत्र खुवाएर दूव्र्यवहार गरिएको खुलासा भएको हो । महोत्तरी को साम्सी गाउँपालिका वडा नं – ३ मडई बस्ने सञ्जय झाले २७ असोजमा भाउजु शिलादेवीको हत्या गरेको प्रहरीले जनाएको छ । शिलादेवी, देवर सञ्जय र देवरानी रिंकुसँगै बस्दै आएकी थिइन् । गत असारमा सञ्जयसँग बिहे गरेकी रिंकु गर्भवती थिइन् ।
गर्भपतन भएपछि संजय जनकपुधरामस्थित रिंकुको हजुरआमाको घरमा बस्न थाले । त्यहाँ बस्दा पनि रिंकु बेलाबेला विरामी भइन् । अस्पतालमा चेकजाँच गराउन रोग पत्ता नलागेको भन्दै सञ्जयले पत्नी रिंकुलाई झाँक्री कहाँ लिएर गएका थिए । त्यस क्रममा रिंकु काम्न थालेको र आफूलाई शिलादेवीको दिवंगत छोरा कृष्णा हुँ भनेको सञ्जयको दाबी छ । त्यही कारण सञ्जयले भाउजुमाथि बोक्सीको आरोप लगाए र २७ असोजको साँझ ५ बजेतिर जनकपुरबाट साइकलमा मडईस्थित आई घरमा सुतिरहेकी शिलादेवीको हथौडा प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
भाउजुको हत्यापछि उनी जनकपुर फर्किएका थिए । शिलादेवीलाई मारेपछि मात्रै आफ्नो परिवार सुरक्षित हुन्छ भन्ने अन्धविश्वासको कारण हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । शिलादेवीको हत्या भएकै दिन सदरमुकाम जलेश्वरमा एक महिलामाथि दुर्व्यवहार भएको छ । जलेश्वर नगरपालिका–४ सुगा ४२ बर्षीया महिलामाथि बोक्सीको आरोपमा दुर्व्यवहार भएको प्रहरीले जनाएको छ । स्थानीय सिकिन्दर महतो सहितको समूहले उनलाई बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र खुवाउनुका साथै केश मुण्डन गरेको पाइएको महोत्तरी प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
