यात्रुसँग बढी भाडा असुल्ने ५ वटा सुमो प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०७८ आश्विन ३१, आईतवार १६:०३

मकवानपुर । चाडपर्वको मौका छोपेर यात्रुसँग तोकिएको भन्दा बढी भाडा रकम असुल्ने ५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तोकिएको भन्दा बढी भाडा लिइरहेको फेला परेपछि ५ वटा सुमोलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिएका छन् ।

हेटौंडा हुँदै चल्ने ना १ ज १७५२, ना १ ज ७४४०, ना १ ज २०८८, ना १ ज ६४०३ र ना १ ज ५०७६ नम्वरको सुमो गाडिले यात्रुसँग तोकिएको भाडा दरभन्दा २३० देखि ५ सय रुपैंयासम्म बढी असुलेको फेला परेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको सवारी साधनहरुलाई ३ हजारदेखि ५ हजारसम्म जरिवाना गरिने र यात्रुसँग तोकिएको भन्दा बढी लिएको रकम फिर्ता गराइने जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रकाश पाँडेले बताए । हेटौंडादेखि काडमाडौँसम्मको भाडा ५ सय रुपैयाँ तोकिएको छ ।