हेटौंडामा अटो चालक तथा व्यवसायीद्वारा आन्दोलन

तु खबर संवाददाता
२०७९ भाद्र २, बिहीबार १७:५०

मकवानपुर । हेटौंडामा अटो चालक तथा व्यवसायीहरुले आन्दोलन गरेका छन् । हेटौंडा उपमहानगरपालिकाले अटो संचालनको लागि नयाँ मापदण्ड बनाएपछि बिहीबार उपमहानगरपालिका अगाडि अटोसहित व्यसायीहरुले आन्दोलन गरेका हुन् ।

हेटौंडामा सञ्चालनमा रहेका करिब ५ सयको हारहारीमा अटो व्यवसायी तथा चालकहरुले उपमहानगरपालिकाले विभेदकारी नीति बनाएर आफुहरुको रोजिरोटी खोसेको भन्दै अटोसहित प्रर्दशन गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिकाले २०७६ पुस ७ गतेसम्म दर्ता भएका अटोलाई मात्र हेटौंडा उपमहानगरपालिका क्षेत्रमा संचालन गर्न दिने गरी ‘ग्रिन स्टिकर’ टास्न सुरु गरेपछि त्यस यता दर्ता भएर संचालनमा रहेका अटो व्यवसायीले प्रर्दशन गरेका हुन् । उनीहरुले आजको मितिसम्म दर्ता तथा अनुमति पाएका अटो व्यवसायीको हकमा उपमहानगरपालिकाको नीति एउटै हुनुपर्ने माग राखेका छन् ।