हप्तामा एक दिन मात्र
पत्याउनु हुन्न होला, अब हप्तामा एक दिन मात्र पिउँछु ।
मेरो मुखबाट यस्तो अशुभ वाक्य सुनेर साथीले मुख यसरी चेपारे मानूँ सात सय करेलाको तितो एकसाथ मुखमा पसेको हो । मेरो कुरो निल्नु न ओकल्नुको भएपछि केही बोलेनन् । सर्पको मुखमा छुचुन्द्रो परेपछि हुने असमञ्जसमा साथीलाई पार्न सकेकोमा हुनसम्म खुसी लाग्यो मेरो मनमा । कारण के थियो भने मेरो पैसा पर्ने थियो आज पिउँदा वा पिलाउँदा । अबदेखि हप्तामा एक दिन पिउने बताएपछि ठिकै हो भन्नुबाहेक अरु केही बोल्न सकेनन् ।
होटलमा बसेको थिएँ । सधैँ बस्ने होटल त्यहीँ हो । साथीले मनमनै भन्यो होला – आज खुवाउनुु परेपछि हप्ताको एक दिन मात्रको कुरो फुत्कायो ।
मनको भाव लालबुझक्कडभन्दा पनि छिटो बुझेर भनें :
हप्ताको एक दिन छुटी हुन्छ । म हप्ताको एक दिन मात्र घर जान्छु । तपाईँलाई थाहै छ, घरभन्दा टाढा जागिर खाने मान्छे म । हप्ताको एक दिन बालबच्चालाई भेट्छु । हप्ताको एक दिन मात्र गाउँ, समाज र टोलछिमेकसित हुन्छु । हप्ताको एक दिन मात्र म गाउँले हुन्छु । त्यहाँ गाउँमा मलाई एक दिन देख्नु भयो भने मलाई जागिरबाला मान्छे भन्ठान्नु हुन्न । म पूरा गाउँले र पाखे भएर गाउँमा रमाउँछु तर हप्ताको एक दिन मात्र । हप्ताको एक दिन अबेरसम्म सुत्छु । थाहा छ कुन दिन ? जुन दिन बेलुका मेरो पिउने पालो परेको हुन्छ । हप्ताको एक दिन पिउन पाएपछि मज्जैले पिउँछु र पिएको रात अबेर भइहाल्छ । अनि बिहान अबेरसम्म सुत्छु । हुन त मेरो सबेर नै अबेर हुने गर्दछ ।
हप्ताको एक दिन मात्र माछा, हप्ताको एक दिन मात्र मासु र हप्ताको एक दिन मात्र साकाहारी खाना खान्छु । पक्कै पत्याउनु हुन्छ होला, म हप्ताको एक दिन फास्टिङ बस्छु । फास्टिङ बसेकै दिन म दारु पिउँछु । थाहा छ ? किन म त्यसै दिन पिउँछु ? मेरो नजरमा दारु भनेकै साकाहारी रस हो । मेरो अनुसन्धानले के देखाएको छ भने अरु दिन पिउनुभन्दा फास्टिङ बसेको दिन पिउँदा स्वाद नै फरक हुन्छ, आनन्द नै बेग्लै दिन्छ । फास्टिङ बसेको दिन विशेष दिन हुन्छ, विशेष दिनको विशेष स्वाद । विशेष दिनको विशेष आनन्द । अरु दिन त सामान्य भइहाले नि । तर फास्टिङ बसेको दिन चाहिँ सामान्य हुँदैन, सामान्य हुन दिनु हुँदैन ।
मलाई एक दिन एक जना धेरै ठूला मानिसले फोन गरेर भनेका थिए : तिमी जीवनमा एक पटक दारु ल्याइदेऊ, म तिमीलाई आफ्नो कार्यक्रममा अतिथि राख्छु । मैले सोधेको थिएँ : कार्यक्रम साकाहारी हुन्छ कि मांसाहारी ?
किन ? सोधेको ?
साकाहारी, किन सोधेको ?
मैले जवाफमा बोलेको थिएँ : खसी पनि साकाहारी नै हो किनभने खसीले माछामासु खाँदैन । ब्रोइलर कुखुरा त झन् घरभित्रै शुद्ध दाना र पानी खाएर हुर्केको हुन्छ । साकाहारी हुने नै भयो । झन् अन्डाले जन्मेदेखि केही खाएकै हुँदैन त कसरी मांसाहारी हुनु ? र, जो साकाहारी छ, त्यसको मासु कसरी मांसाहारी हुन सक्छ ?
मलाई ती ठूला मानिसले अह्राएथे : शुद्ध साकाहारी मृत सञ्जीवनी सूरा ल्याइदेऊ । अर्थोक जानेको छैन । तिमीलाई अतिथि बनाउने ठूलो रहर छ । मेरो रहर पूरा गरिदेऊ ।
त्यत्तिबेला म दरुआहामा परिचित थिएँ । सूर्य अस्त अनि म मस्त भइहाल्थें । न व्यस्त र न फुर्सद, म त केवल मस्त हुन खोज्दथें । दुनियाका हरेक मानिस आफैंमा मस्त र ब्यस्त हुन्छन् । म पनि यहीँ हुन्थें त्यत्तिबेला तर अहिले अलिक सम्हालेको छु आफूलाई । यसैले सम्भव भएसम्म धेरै काम हप्तामा एक दिन मात्र गर्छु ।
मैले आग्रह गरें ः साथी, म अलिकति भुजा र दालमोठ भुजिया खान्छु । अरुहरुले पिएको देख्छु, त्यसैमा रमाउँछु । अझ कोही नजिक यदि पिउँछन् भने त्यसको वासनाले मलाई परमानन्द दिन्छ । यत्तिमै आफूलाई सम्हालेको छु किनभने म हप्तामा एक दिन पिउँछु । अरु दिन अरुको लागि जिउँछु र जुन दिन म पिउँछु त्यो दिन आफ्नो लागि जिउँछु । आफ्नो लागि जिउनुको अनुभूति केवल मसित छ । आफ्नो लागि नजिउनु पनि के जिउनु हो ? आफ्नो लागि नपिउनु पनि के पिउनु हो ? म पिउनको लागि जिउँदिन, म जिउनको लागि पनि पिउँदिनँ ।
कतिपय मानिसको नजरमा जिउने कलाभन्दा पिउने कलाको मूल्य बढी हुन्छ । पहिले मेरो नजरमा पिउने कला जिउने कलाभन्दा महान् थियो तर अहिले मेरो नजरमा पिउने कलाभन्दा जिउने कला महान् छ । राम्रोसित पिएर कोही महान् बन्दैन तर राम्रोसित जिएर महान् बन्न सक्छ । विस्तारै साथीलाई लाग्न थालेछ कि मलाई दारु लागेछ । अघिपछि यति बोल्दै नबोल्ने म बिना दारु कसरी दर्शन छाँटेको हुँला, यति ठूला कुरा गर्न आँटेको हुँला । मैले पक्कै उसलाई ढाँटेको हुँला भन्ने परेपछि ऊ त्यहाँबाट बाहिर निस्केछ । वास्तवमा मेरो दर्शन फरक छ । अरु जे सुकै भए पनि म हप्ताको एक दिन मात्र पिउँछु ।
अरु कुनै काम म यति निष्ठापूर्वक गर्दिनँ जति हप्तामा एक दिन मात्र पिउँछु । मलाई थाहा छ : हप्तामा मेरो पिउने दिन एक दिन मात्र हो । यसकारण हप्ताको त्यो एक दिनलाई किन खेर फाल्ने ? अब म साँचो कुरा बताउँछु । साथीले मेरो दारुको पैसा पिउला भनेर मैले सबै दर्शन छाँटेको हुँ । अब म आफ्नो पैसाले मात्र पिउने किरिया पनि खाएको छु । अरुको पैसाले नपिउने किरिया पनि दाइँजोको रुपमा खाएको छु । यस कारण सोझो अर्थमा सही कुरा इमानदारीपूर्वक बताउँछु अब ।
हप्तामा खुसी, गम, आश्चर्य, पीडा, मित्रता, आफन्त जो वा जे आए पनि त्यस दिन पिउँछु किनभने यी सबै सधैँ आइरहँदैनन् । सबैलाई स्वागत र सम्मान गर्न नपिई मेरो मनले मान्दैन ।
हप्तामा एक दिन मात्र आइतवार आउँछ । हप्तामा एक दिन मात्र सोमवार आउँछ । हप्तामा एक दिन मात्र मंगलवार आउँछ । हप्तामा एक दिन मात्र बुधवार आउँछ । हप्तामा एक दिन मात्र विहीवार आउँछ । हप्तामा एक दिन मात्र शुक्रवार आउँछ र हप्तामा एक दिन मात्र शनिवार आउँछ । एक दम स्पष्ट छ म हप्ताको एक दिन मात्र पिउँछु अर्थात् हप्तामा हरेक दिन मात्र एक दिन मात्र आउँछ । त्यसैले म हप्तामा एक दिन मात्र पिउँछु ।
उसो त मेरो मनमा यो विचार आउन थालेको छ कि जीवनमा हरेक दिन केवल एक दिन मात्र आउँछ । यसैले म हरेक दिन त पिउँदिन तर हप्तामा एक दिन मात्र … … ।
