बागमती प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकमा कस्ले के भने ?
मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको नवौं अधिवेशनको पहिलो बैठकमा विभिन्न राजनीतिक दलका नेताहरुले राष्ट्रिय सरोकारको विषय लगायतमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए । उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विगतको तुलनामा सांस्कृतिक पर्वहरुमा हुने् गरेको विभेदहरुलाई हटाउँदै परम्परागत शैलीलाई जोगाएर सांस्कृतिक रुपान्तरण गर्नु आजको आवश्यकता रहेको बताइन् ।
यस्तै, बैठकमा सत्तारुढ नेकपा एमाले संसदीय दलका सचेतक दिपक निरौलाले प्रदेशका सबै धर्म संस्कृति समुदायका व्यक्तिहरुलाई प्रदेश सरकारले सम्मान धारणाका साथ आफ्नो स्रोत र साधन अनुसार, सेवासुविधा उपलब्ध गराउँदै आएको चर्चा गरे । बैठकमा बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्मकट्टेलले प्रजातान्त्रिकको व्यवस्थालाई जीवन्त तुल्याउनुको सट्टा मुख्यमन्त्री र मन्त्री पद प्राप्तीको लागि आफ्नो सिद्धान्त र जनताप्रति जिम्मेवार नभएको भन्दै दुःख व्यक्त गरे ।
उक्त अवसरमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सबै नेपालीहरुलाई दिगोशान्ति, मानव अधिकारको संरक्षण गर्न विगतको संघीय र प्रदेश सरकारले सकरात्मक भूमिका खेल्न नसकेकोमा चिन्ता व्यक्त गर्दै संविधानको संरक्षण गर्न र प्रदेशमा जनतालाई आधारभूत विकासप्रति आत्मनिर्भर तुल्याउन वर्तमान प्रदेश सरकार परिवर्तन गर्न आवश्यक रहेको बताए ।
यसैगरी, सो बैठकमा नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुलुकमा प्रजातान्त्रिक शक्तिलाई दरिलो बनाउन राजनीतिक दलका नेताहरुले आफुलाई व्यवहारिक र पद प्राप्तिको होडबाजीलाई त्याग्नुपर्नेमा जोड दिए । बैठकमा साझा विवेकशील दलका नेता रमेश पौडेल, नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्र राज गोरसाई, राप्रपाका रिता माझी र जसपाका नेता प्रेम तामाङले राजनीतिक दलका शीर्ष नेताहरुले आफुलाई व्यवहारिक र पार्टीप्रति निष्ठा राखेर अघि बढेको खण्डमा देशमा स्थायी शान्त्ति र प्रजातन्त्रको सुदृढिकरणको लागि एकजुट हुनुपर्ने धारणा राखेका थिए ।
