बागमती प्रदेश सरकारले बढायो सार्वजनिक यातायातको भाडा

तु खबर संवाददाता
२०७८ आश्विन २१, बिहीबार ०९:४२
file-photo

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभित्र संचालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । प्रदेश सरकारले आगामी कात्तिक १ गतेदेखि लागू हुने गरी २३ प्रतिशत भाडा बढाएको हो । संघीय सरकाले असार २९ गतेदेखि लागू हुने गरेर अन्तरप्रदेश (राष्ट्रिय राजमार्गमा चल्ने सार्वजनिक सवारीको) भाडा २८ प्रतिशतले समायोजन गरेको थियो । त्यसपछि, यातायात व्यवसायीले प्रदेश सरकारले पनि भाडा वृद्धि गर्नुपर्ने माग राख्दै आएका थिए ।

यातायात व्यवसायीहरुले बुधबार मात्रै प्रदेशको राजधानीस्थित भौतिक पूर्वाधार विकास मन्त्रालय अगाडि भाडा समायोजनको लागि धर्ना दिएको थियो । उनीहरुले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा नबढेमा आन्दोलनको चेतावनीसमेत दिएका थिए । संघीय सरकारले भाडा समायोजन गरिसकेको र व्यवसायीले पनि दबाब दिन थालेपछि प्रदेश सरकारले भाडा समायोजन गरेको भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशका प्रदेश सचिव अशोक कुमार शाहले जानकारी दिए ।

उनले उपत्यका बाहिरको हकमा २३ प्रतिशत भाडा बढेको जानकारी दिए । यस्तै, उपत्यका भित्र चल्ने सार्वजनिक सवारीको हकमा ५ किलोमिटरसम्म १८ रुपैयाँ, १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० र २० किलोमिटरभन्दा बढीको भाडादर ३५ रुपैयाँ कायम भएको भौतिक मन्त्रालयले जनाएको छ ।