जसपाको मन्त्री छान्ने जिम्मा तीन नेतालाई
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको हो ।
बैठकले मन्त्री छान्ने जिम्मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको नेता गंगानारायण श्रेष्ठले जानकारी दिए । सत्तारुढ गठबन्धनले मंगलबार मन्त्रालय बाँडफाँटमा सहमति जुटाएको थियो । जसअनुसार जनता समाजवादी पार्टीले भौतिक पूर्वाधारसहित चार मन्त्रालय पाउने टुंगो लागेको थियो ।
प्रधानमन्त्रीमा देउवा नियुक्त भएको झण्डै तीन महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । तर, अब केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने संकेत देखिएको छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा दलहरुबीच मन्त्रालयको भागबण्डा मिलाइएपछि मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने आधार तय भएको हो । बैठकमा काँग्रेसले प्रधानमन्त्रीसहित ८ वटा, माओवादी केन्द्रले ६ वटा, नेकपा एकीकृत समाजवादी र जसपाले ४–४ वटा मन्त्रालय पाउने गरी सहमति भएको छ ।
