बाढीपहिरो प्रभावित क्षेत्रमा पुननिर्माणका लागि बागमती सरकारले २ करोड दिने
मकवानपुर । बागमती प्रदेश सरकारले बाढीपहिरोबाट प्रभावित भएको सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा पुनर्निर्माण तथा पुनःस्थापनाका लागि रु २ करोड रकम दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजय क्रान्ति शाक्यको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले उक्त रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट दिने निर्णय गरेको हो । बैठकले सिन्धुपाल्चोकलाई अस्थायी आवास निर्माण र पुनर्निर्माणतर्फका लागि एक करोड ८८ लाख ७७ हजार ५ सय रुपैयाँ र नुवाकोटलाई अस्थायी आवास निर्माणका लागि ७ लाख ६५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको मन्त्री शाक्यले जानकारी दिए ।
बैठकले २०७७ जेठदेखि बाढीपहिरोलगायत मनसुनजन्य विपद्का घटनाहरूबाट क्षति पुगेका नीजि घर परिवारहरूलाई सरकारका तर्फबाट तत्काल गुजाराका लागि प्रतिपरिवार रु १० हजारसम्म वितरण गर्ने निर्णय गरेको छ । मन्त्री शाक्यका अनुसार, सिन्धुपाल्चोकमा जम्मा लाभग्राही ३६६ जनाको ३६ लाख ६० हजार र दोलखा जिल्लालाका पनि ९३ जनाको ९ लाख ३० हजार प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिलाई रकम उपलब्ध गराइनेछ ।
