कांग्रेस हेटौंडाले संगठन सुदृढीकरण अभियान संचालन गर्ने

तु खबर संवाददाता
२०७८ आश्विन २०, बुधबार ०८:२४

मकवानपुर । नेपाली कांग्रेसको हेटौंडा उपमहानगर समितिले संगठन सुदुढीकरण अभियान संचालन गर्ने भएको छ । मंगलबार बसेको नगर समिति बैठकले आगामी पुस मसान्तभित्र उपमहानगरको १९ वटै वडामा भातृ संगठन गठन तथा पुर्नगठन गरिसक्ने निर्णय गरेको छ ।

कांग्रेस हेटौंडाले तरुण, महिला, किसान, जनजाति, दलित संघसहित विभिन्न भ्रातृ संगठनलाई गठन तथा पुर्नगठन गर्ने अभियान संचालन गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले उपमहानगरपालिकाको अधिवेशनमा निर्वाचन गराउन खटिएका अधिकृत तथा मतदातालाई धन्यवाद ज्ञापन गर्ने निर्णयसमेत गरेको नगर सचिव सविन न्यौपानेले जानकारी दिए ।

सो बैठकमा नजिकिँदै गरेको चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान समेत भएको थियो । बैठक कांग्रेस उपमहानगर सभापति उत्सव इटेनीको अध्यक्षता तथा कार्यबाहक जिल्ला सभापति बिष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथि लामिछानेले कांग्रेसको अधिवेशनको क्रममा भएको आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर अब एकढिक्का भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । स्थानीय तहको निर्वाचन नजिकिँदै गएकोले गुट–उपगुटलाई त्याग्दै आन्तरिक प्रतिस्पर्धाको बिषयलाई बिर्सेर अघि बढ्नु आवश्यक रहेको बताए ।

यस्तै, निवर्तमान नगर सभापति आनन्दराम पराजुलीले कांग्रेसलाई मकवानपुरमा जिताउने गरी सबै नेता कार्यकर्ता एकढिक्का भएर लाग्नुपर्ने बताए । आन्तरिक प्रतिस्पर्धाको विषयलाई लिएर पार्टीलाई घात गर्ने छुट कसैलाई पनि नभएको उनको भनाई थियो । बैठकपश्चात हेटौंडा ११ का कृष्णप्रसाद पुडासैनीले नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए ।