कोरोना संक्रमणबाट वडा सदस्य ओझाको मृत्यु

तु खबर संवाददाता
२०७८ आश्विन १७, आईतवार १७:५३
सांकेतिक तस्वीर

डडेल्धुरा । अमरगढी नगरपालिका वडा नम्वर ५ का वडा सदस्य ७० वर्षीय जगन्नाथ ओझाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । असोज १४ गते अस्पताल भर्ना भएका उनको शनिबार राति डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । उनलाई असोज १४ गतेबाट नै उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो । वडा सदस्यको निधन भएपछि अमरगढी नगरपालिकाले आज शोक बिदा दिएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ६ सय ७९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७० जनाको पीसीआर प्रविधिमार्फत् कोरोना परीक्षण गर्दा ५ सय ७४ र ३ हजार ८ सय ५० जनाको एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण गर्दा १ सय ५ जनामा गरी कूल ६ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५ जना कोरोना मुक्त भएका छन् । संक्रमणकै कारण ७ जनाको मृत्यु भएको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९७ हजार १ सय ९२ पुगेको छ । यससंगै नेपालमा संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार १ सय ६४ पुगेको छ । हालसम्म ७ लाख ६९ हजार २ सय २४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ४ जना रहेका छन् । जसमध्ये १५ हजार ५३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३३७ जना आईसीयू र १०४ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका १५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४५ जना कोरोना संक्रमित थपिएका छन् ।