सिंह बनिन् अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्ष

तु खबर संवाददाता
२०७८ आश्विन १७, आईतवार १७:३०

काठमाडौँ । अखिल क्रान्तिकारीको अध्यक्षको जिम्मेवारी पञ्चा सिंहले पाएकी छिन् । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विद्यार्थी नेताहरुबीभ भएको छलफलले सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्षको जिम्मेवारी सुम्पिएको हो । पार्टीको स्थायी समितिले दिएको अधिकार अनुसार माओवादी अध्यक्ष प्रचण्डले सिंहलाई अध्यक्ष बनाउने निर्णय सुनाएका थिए ।

अरु पदाधिकारीका बारेमा पनि छलफल भइरहेको जनाइएको छ । क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेत र सिंह मुख्य दावेदार को रुपमा चर्चामा थिए । शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । जारी २२ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रबाट सिंह अखिल क्रान्तिकारीको अध्यक्ष बनेको घोषणा गर्ने तयारी छ । तामाङ नेतृत्वको कमिटीमा उपाध्यक्ष रहेका उनी अखिलमा पहिलो महिला अध्यक्ष बनेकी हुन् ।

सुर्खेत निवासी सिंह माओवादी केन्द्रकी कर्णाली प्रदेश कमिटी सदस्यसमेत हुन् । कालीकोटको महावैमा जन्मिएकी उनी २०५८ सालमा भूमिगत भएकी थिइन् । जतिबेला उनी १४ वर्षकी थिइन् । सुरुका ५/६ महीना कलाकारको टिममा थिइन् । लगत्तै विद्यार्थी संगठनमा आबद्ध भइन् । ०५९ सालमा जुम्ला जिल्ला कोषाध्यक्ष हुँदै ०६२ मा जुम्ला र कालीकोट जिल्ला अध्यक्षको जिम्मेवारी पाएकी थिइन् ।

१७ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी सिंहले ०६५ मा भेरी–कर्णालीको संयोजकको जिम्मेवारी पाइन् । त्यसपछि केन्द्रीय सचिव निवार्चित हुँदै नरेन्द्र न्यौपाने अध्यक्ष हुँदा पञ्चा उपाध्यक्षको जिम्वारीमा थिइन् । २१ औं महाधिवेशनमा उनी सबैभन्दा धेरै मत ल्याएर उपाध्यक्षमै निर्वाचित भएकी थिइन् ।