सत्ता गठबन्धनको बैठक अनिश्चित हुँदा सरकार विस्तारमा ढिलाई

तु खबर संवाददाता
२०७८ आश्विन १५, शुक्रबार १४:०६

काठमाडौँ । सत्ता गठबन्धनको बैठक अनिश्चित हुँदा सरकार विस्तारमा ढिलाई भएको छ । आइतबारयता सत्ता गठबन्धनको बैठक बस्न सकेको छैन । आइतबारको बैठकले तत्काल अर्को बैठक बसेर मन्त्रालय बाँडफाँड गर्दै मन्त्रिमण्डल विस्तार गर्ने सहमति गरेको भएपनि अर्को बैठक बस्न नसक्दा सरकार विस्तार गर्न ढिलाइ हुने भएको हो ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ भएको कारण देखाउँदै बैठक सारिरहेका छन् । अन्य दलका नेताहरु भने बैठक बस्न नसक्नुको कारणबारे नाजवाफ छन् । आइतबारको बैठकमा देउवाले मंगलबारभित्र नै बैठक बसेर बुधबारसम्ममा मन्त्रालय बाँडफाँट टुंग्याउने बताएका थिए । तर, उनले त्यसयता बैठक नै नबोलाएपछि गठबन्धनकै नेता अन्योलमा परेका छन् ।

सोमबारदेखि अध्यक्ष नेपाल अस्वस्थ भएका थिए । सोमबार मंगलबार घरमै आराम गरेका नेपाल बुधबारदेखि शिक्षण अस्पतालमा भर्ना भएका छन् । अध्यक्ष नेपालको स्वास्थ्यमा केही सुधार आएपनि उनको तत्कालै डिस्चार्ज हुने सम्भावना नरहेको एकीकृत समाजवादीका नेताहरु बताउँछन् । नेता नेपाललाई खोकी र ज्वरोले सताएको थियो ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार शुक्रबार बैठक बस्ने भनिएको भएपनि समय भने एकिन भएको छैन । सोही दिन बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले बुधबार बेलुकै गठबन्धनको बैठक बसेर बिहीबार मन्त्रिमण्डल विस्तार हुने ब्रिफिङ गरेका थिए ।