एकेडेमी संचालनका लागि भएको सम्झौता रद्ध

तु खबर संवाददाता
२०७८ आश्विन १५, शुक्रबार ०८:४६

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापासँग एकेडेमी संचालनका लागि गरेको सम्झौता रद्ध गरेको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईले बिहिबार (हिजो) एक विज्ञप्ती जारी गर्दै सो बारेमा जानकारी गराएका हुन् ।

हेटौंडा नगर प्रमुख प्रशासकीय अधिकृत चौलागाईं र थापाबीच एकेडेमी संचालनका लागि २५ लाख रुपैयाँको सम्झौता भएको थियो । थापाले यस विषयमा विस्तृतमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताएका थिए । थापाले पत्रकार सम्मेलन गर्न नपाउँदै सम्झौता रद्ध भएको हो ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबोल महतले बिहिबार आकस्मिक बैठक बसेर सम्झौता रद्ध गरेको जानकारी दिँदै थापा प्रतिबन्धि भएको कुरा थाहा नपाएका कारण एकेडेमी संचालनको लागि सम्झौता भएको र त्यस विषयमा थाहापाए लगते सम्झौता रद्ध गरेको बताए । उनले भने, ‘हामीले खेलाडी उत्पादन गर्ने भनेका कारण बजेट विनियोजन गरेका थियौं । तर, उहाँ प्रतिबन्धित हुनुहुन्छ भन्ने थाह थिएन । हामीले सम्झौता रद्द गरिसकेका छौं ।’

एन्फा अध्यक्ष हुँदा आर्थिक अनियमितता आरोपमा दोषी ठहर गर्दै विश्व फुटबल महासंघ (फिफा) ले २०७२ कात्तिक ३० गते थापामाथि १० वर्षको प्रतिबन्ध लगाएको थियो । थापा प्रतिबन्ध फुकुवा हुन अझै ४ वर्ष बाँकी छ ।