अढाइ महिना मुख्यमन्त्री बन्न नचाहेको भन्दै झोक्किए बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकार परिवर्तनको सन्दर्भमा कांग्रेसले अढाइ महिना मुख्यमन्त्री नमागेको बताएका छन् । केही सञ्चार माध्ययमहरुमा नेपाली कांग्रेसले नेकपा एकीकृत समाजवादीसँग अढाइ महिना सरकारको नेतृत्व कांग्रेसलाई दिन प्रस्ताव गरेको भनी आएका समाचारहरुको खण्डन गर्दै नेता बानियाँले त्यस्तो कुनै प्रस्ताव नेपाली कांग्रेसको तर्फबाट नभएको तु खबरलाई बताए ।
‘काम न काजसँग अढाइ महिनाको लागि मैले सरकारको नेतृत्व मागी प्रस्ताव गर्ने कुरा हुँदैन । गठबन्धनको बैठक नै बसेको छैन, त्यस्तो प्रस्ताव कसले गर्यो मलाई थाहा छैन’ –बानियाँ झोक्किए । सरकार परिवर्तनको विषयमा पाँच दलीय गठबन्धनको बैठक नबसेको र शीर्ष नेताहरुले सरकारको नेतृत्वको विषयमा कुनै टुंगो नलगाएकोले बजारमा आएको कुरा हल्लामात्रै भएको बानियाँले बताए । उनले भने ‘सरकारको नेतृत्व गर्ने भन्ने कुरा माथिबाट टुंगो लागेपछि मात्रै हुने हो । केन्द्रीय नेतृत्वको निर्णय नै अन्तिम हुन्छ ।’ उनले भने ।
पार्टी विभाजनपछि एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् । कूल ११० जना मध्ये हाल प्रदेशमा १०९ सांसद छन् । सरकारको नेतृत्व गर्न ५६ सांसदको साथ आवश्यक पर्छ । स्पष्ट बहुमतमा रहेको एमाले दल विभाजनसंगै ४३ सांसदमा खुम्चिएको छ । यस्तो परिस्थितिमा शाक्यले विश्वासको मत लिने तयारी गरेकी छिन् । पाँच दलीय गठबन्धन बाहेकका विपक्षी दलहरुले शाक्यलाई समर्थन गर्दा पनि उनले विश्वासको मत पाउने अवस्था रहँदैन ।
प्रदेशमा एमालेको ४३, नेकपा माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २२, एकीकृत समाजवादीको १३, राप्रपाको २, नेमकिपाको २, विवेकशील साझा पार्टीको ३ र स्वतन्त्र १ जना सांसद रहेका छन् । असोज २५ गतेभित्र मुख्यमन्त्री शाक्यले प्रदेशसभाको नवौँ अधिवेशन आह्वान गर्ने तयारी गरेकी छिन् । सो अधिवेशनमा शाक्यले विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ ।
