मेहन्द्र मावि भीमफेदीलाई स्कुल बस हस्तान्तरण

तु खबर संवाददाता
२०७८ आश्विन ६, बुधबार ०९:१४

मकवानपुर । बागमती प्रदेश सरकारले उपलब्ध गराएको स्कुल बस भीमफदी गाउँपालिकास्थित महेन्द्र माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको छ । सोमबार एक कार्यक्रमबी भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले विद्यालयलाई उक्त बसको चाबी (साचो) हस्तान्रण गरेका हुन् ।

गाउँपालिका अध्यक्ष लामाले महेन्द्र मावि व्यवस्थापन समितिका अध्यक्ष सन्तकुमार घिसिङलाई बस हस्तान्तरण गरेका हुन् । भीमफेदी गाउँपालिका–६ स्थित उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोज होस् भन्ने उद्देश्यले प्रदेश सरकारको लागतमा स्कुल बस खरिद गरी हस्तान्तरण गरिएको जनाइएको छ । महेन्द्र माविलाई प्राप्त भएको बसले भीमफेदी गाउँपालिकाको धोर्सिङ, ढट्टाघारी, देउराली, जुरीखेतसम्मका विद्यार्थी लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

प्रदेश सरकारले अनुदानमा बस उपलब्ध गराए पनि नियमित सञ्चालनका लागि चालक, सहचालक, इन्धन खरिद, मर्मतमा हुने खर्च व्यवस्थापनका लागि विद्यार्थीसँग न्यूनतम् शूल्क लिइने बताइएको छ । बस मर्मतका लागि गाउँपालिकाले आगामी आर्थिक बर्षदेखि बजेट विनियोजन गरिने भीमफेदी गाउँपालिकाका शैक्षिक सुपरीवेक्षक गोविन्द चौलागाईले जानकारी दिए ।