मकवानपुरमा थप ३० जना कोरोना संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा बसेका ३० जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, पछिल्लो २४ घण्टामा होम आइसोलेशनमा बसेका २७ जना र संस्थागत आइसोलेशनमा बसेका ३ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै जिल्लामा संक्रमणमुक्त हुनेको कूल संख्या १४ हजार ६ सय ९० जना पुगेको छ । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडाका रहेका छन् । हेटौंडामा हालसम्म ९ हजार ७ सय ८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसैगरी, संक्रमणमुक्त हुनेमा थाहानगरपालिकाका १ हजार ३ सय ८१ जना, मकवानपुरगढीका ४ सय १८ जना, बागमतीका २ सय ७८ जना, कैलाशका २ सय १९, मनहरीका १ हजार ३ सय २५, इन्द्रसरोवरका ८३ जना, भीमफेदीका ७ सय २५ जना, बकैयाका २ सय ४७ जना र राक्सिराङ गाउँपालिकाका २ सय ३१ जना रहेका छन् ।
यस्तै, मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १७ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १५८ जनाको पीसीआर परीक्षण गर्दा हेटौंडा उपमहानगरपालिकाका १० जना, मकवानपुरगढी, बागमती र राक्सिराङ गाउँपालिकाका १/१ जना, मनहरी र भीमफेदी गाउँपालिकाका २/२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमिण पुष्टि हुनेको कूल संख्या १५ हजार ९८ जना पुगेको छ । तीमध्ये हालसम्म कोरोना संक्रमणका कारण निधन हुनेको कूल संख्या १ सय ६४ जना पुगेको छ । निधन हुनेमा हेटौंडाका १ सय १६ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको निधन भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्ति निधन नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा भने कुनै पनि व्यक्तिको निधन नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
